नेपाल: सन् २०२३ लाई फर्केर हेर्दा

Top news from Nepal, that dominated the news cycle in 2023.

Top news from Nepal, that dominated the news cycle in 2023. Source: Getty / Jon G. Fuller/VW Pics/Universal Images

Get the SBS Audio app

Other ways to listen

नेपालमा सन् २०२३ मा राजनीतिक, सामाजिक, आर्थिक र खेलकुद लगायतका क्षेत्रमा भएका महत्त्वपूर्ण घटनाक्रमहरूले समाचारमा स्थान पाए। र हामीले पनि त्यस्ता केही विषयहरूका बारेमा समाचार बनाउने मात्र नभई विभिन्न दृष्टिकोणबाट गरिएका विश्लेषणहरू पनि प्रस्तुत गरेका थियौँ।


ज्यानुअरी

  • पोखरा विमान दुर्घटना
सन् २०२३ को सुरुवात नै दुर्घटनाको खबरबाट भएको थियो।

७२ जनाको ज्यान जाने गरि पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको आकाश कत्तिको सुरक्षित छ भन्ने विषयमा छलफल भयो।
  • क्रिकेट म्याच फिक्सिङ विवाद
नेपाल टी-२० लिगको कमेन्ट्री गरिरहेका एक जना कमेन्टेटर सचिन तिमल्सेनाले प्रतियोगितामा फिक्सिङ भएको बताए पछि यो विषयले निकै चर्चा पाएको थियो।

क्रिकेटर ज्ञानेन्द्र मल्लले उनको टोलीका खेलाडीलाई सट्ट बाजले प्रस्ताव गरेको र आफ्नो टोलीले एन्टी करप्सन युनिटमा उक्त विषयको उजुरी गरेको बताए पछि विवादलाई बढावा मिलेको थियो।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले भने म्याच फिक्सिङ भएको प्रमाण सहित उजुरी दिन प्रेस विज्ञप्ति निकालेको थियो।

क्रिकेटकै कुरा गर्दा उच्च अदालत पाटनले बलात्कार आरोपित  क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सशर्त रिहा गर्न आदेश दिएको थियो।

र  यस सँगै उनि माथिको निलम्बन क्यानले फुकुवा गरेको थियो।
  • प्रेम आचार्य आत्मदाह
इलामका ३७ वर्षीय प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि पेट्रोल छरेर शरीरमा आगो लगाए पछि साना तथा मझौला व्यवसायीरूका लागि देशमा कस्तो छ अवस्था भन्ने बारेमा बहस सुरु भयो।

आचार्यको आत्मदाह बारे छानबिन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन गरियो।
  • रबि लामिछाने नागरिकता प्रकरण
राजनीति तर्फ वर्षको सुरुकै महिनामा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रबि लामिछाने माथि नागरिकताको विषयमा परेको रिट निवेदनमा फैसला गर्दै सर्वोच्च अदालतले उनको सांसद एवं उपप्रधान र गृहमन्त्री रहन अयोग्य रहेको फैसला सुनायो।

यसपछि फेब्रुअरी महिनाको सुरुवातमा नै लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सरकारबाट बाहिरिने घोषणा गर्‍यो।

दुई महिना पछि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सरकारमा नरहने निर्णय गरेको थियो।

फेब्रुअरी

  • राष्ट्रपति निर्वाचन
यो महिनामा देशले तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई पायो।

पौडेलले ३३ हजार ८ सय २ मत भार प्राप्त गर्दै एमालेबाट उम्मेदवारी दिएका सुवासचन्द्र नेम्वाङलाई पछि पारेका थिए।
  • खेलकुद उपलब्धि
खेलकुदका उपलब्धिहरू यस महिना चर्चामा रहे।

जस्तै की नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटस्म्यान आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट प्रदान गरिने स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्राप्त गरे।

यस बारे शेखसँग गरिएको कुराकानी एसबीएस नेपालीले प्रकाशित गरेको थियो।
नेपाल साफ यू-२० महिला च्याम्पियनसिप २०२३ को उपविजेता भयो भने नेपाली राष्ट्रिय क्रिकेट टोली इतिहास रच्दै विश्वकप छनोटमा प्रवेश गर्‍यो।

यस अघि नै एक दिवसीय मान्यता जोगाउन सफल भएको नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएई विरुद्ध जित हात पार्दै इतिहास बनाउन सफल भएको थियो।

मार्च

  • राष्ट्रपतीय निर्वाचनले ल्याएको राजनीतिक तरङ्ग
पुष्पकमल दाहालले सत्ता सम्हालेको तीन महिना नपुग्दै दोस्रो पटक विश्वासको मत लिनु पर्‍यो जब राष्ट्रपतीय निर्वाचनमा काँग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्रले समर्थन गरेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए।

त्यस्तै उपराष्ट्रपतिमा भने जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार राम सहाय प्रसाद यादव निर्वाचित भए।
  • नेपालको जनसंख्या घट्यो
नेपालको जनगणनाको अन्तिम र विस्तृत प्रतिवेदनले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको देखायो।

नेपालको जनसङ्ख्या घट्दो क्रममा गएको र यसलाई सम्बोधन गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्नेमा प्रधानमन्त्री पुष्प कमल दाहालले जोड दिए।
  • मिटर ब्याज पीडितहरूको आन्दोलन
महिनाको अन्त्यतिर मिटर ब्याज पीडितहरूको आन्दोलन चर्कियो र उनीहरूले सङ्घीय राजधानीमा नै आवाज उठाएपछि सरकारले मिटर ब्याजलाई अपराध घोषणा गर्ने निर्णय गर्‍यो।

एप्रिल

  • बालेन शाहको स्टेटस
काठमाण्डू महानगरपालिकाको मेयरका रूपमा निर्वाचित भए देखि नै चर्चा कमाएका बालेन शाह पटक पटक समाचारमा छाइ रहे।

कहिले निर्वाचन आयोगले चुनावको बेलामा भएको खर्च विवरण नबुझाएको भन्दै कारबाही स्वरूप तिर्न लगाएको जरिवानाको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गराएर त कहिले सरकारको स्थायित्वलाई लिएर अभिव्यक्ति दिएर।

यस पटक भने फेसबुकमा एक स्टेटस लेखेर उनले सिंहदरबारको फोहोर नउठाइने बताएका थिए। उक्त स्टेटसलाई लिएर एक पटक सामाजिक सञ्जालमा प्रतिक्रियाको लहर नै चल्यो।

तर सर्वोच्च अदालतले काठमान्डु महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश दिए पछि यो विषय शान्त भएको थियो।
  • उपनिर्वाचन
बारा, चितवन र तनहुँमा उपनिर्वाचन सम्पन्न भयो।

जसमा चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्ले विजयी भए भने बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए।
  • प्रदूषित सहर र खस्किँदो अर्थतन्त्र
एप्रिलमा नै काठमान्डु विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचिको टुप्पोमा उक्लियो।

यसैबिच देशको अर्थतन्त्रमा समस्या देखिन थालेको अर्थविद्हरूले बताउँदै गर्दा अर्थतन्त्रमा देखिएका समस्यार नेपालमा लगानीका सम्भावना बारे हामीले सामाग्रीहरू पस्किएका थियौँ।

मे

  • नक्कली भुटानी शरणार्थी प्रकरण
मे महिनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली सर्वसाधारणबाट लाखौँको रकम ठगी गर्ने गिरोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको नाम जोडिएको विषय चर्चाको शिखरमा रह्यो।

नेकपा एमालेका सचिव एवं पूर्व उप प्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत उच्च पदस्थ अधिकारीहरूको नाम बाहिर आएको थियो।
  • रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले पछि सरकारलाई दिएको समर्थन फिर्ता लिने दलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पनि थपियो।

रबि लामिछानेको नागरिकता विवाद पश्चात् सरकारबाट बाहिरिएको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन।
  • खेलकुद
नेपाल एसीसी एसिया कपका लागि छनोट भयो। र एसिया कपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई सरकारले नगद पुरस्कार दिने निर्णय गर्‍यो।
  • रेशम चौधरी रिहाइ
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्व सांसद रेशम चौधरी रिहा भए पछि यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा समर्थन र विरोधका आवाज सुनिए।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि जन्मकैदको सजाय सुनाइएका चौधरी रिहा भएका थिए।
  • बजेट चर्चा
आर्थिक वर्ष २०८०/२०८१का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरियो।

अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको बजेटका बारेमा प्रशस्तै टीका-टिप्पणी भएका बारे पनि हामीले चर्चा गरेका थियौँ।
  • नागरिकता ऐन संशोधन विधेयक
महिनाको अन्त्य तिरै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐनको संशोधन विधेयक प्रमाणीकरण गरे।

नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यसरी नागरिकता पाएका गैर आवासीय नेपालीहरूले सम्पत्तिको भोग चलन गर्न पाउने र व्यापार-व्यवसायमा लगानी गर्न पाउने व्यवस्था स्थापित भयो।
  • अस्ट्रेलियन मन्त्रीको नेपाल भ्रमण
यसै महिना बिल हेडेनको सन् १९८५ भ्रमण पछि झन्डै ४० वर्षमा नेपाल पुगे पहिलो सङ्घीय अस्ट्रेलियाली मन्त्री टिम वाट्स।

न्यु साउथ वेल्सको आर्ट ग्यालरीमा रहेको पाटन स्थित सुलिमा चोकको रत्नेश्वर मन्दिरको टुँडाल फिर्ता गर्ने कार्यक्रममा भाग लिन उनी नेपाल पुगेका थिए। यसबारे उनले एसबीएस नेपालीसँग विशेष कुराकानी पनि गरेका थिए।

जुन

  • आदिपुरुष विवाद
महिनाको सुरुवात तिरैै भारतीय चलचित्र आदिपुरुषमा प्रयोग भएको संवादलाई लिएर सामाजिक सञ्जालहरूमा निकै चर्चा चल्यो।

विशेष गरि काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले चलचित्रमा जानकी भारतीय छोरी हुन् भन्ने संवाद नसच्चिए सम्म महानगरका हलहरूमा चलचित्र चल्न नदिइने अभिव्यक्ति दिए पछि यसको समर्थन र आलोचना दुवै भएका थिए।

  • खेलकुदमा धेरै निराशा
खेलकुदमा यो महिना केही निराशाजनक रह्यो किनभने विश्वकप छनोटका खेल खेल्न जिम्बाब्वे पुगेको नेपाल पहिलो चरणबाटै बाहिरियो।

त्यसैगरी नेपाल सन् २०२३को साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरियो।

भारतको बैंगलोरमा भएको साफ च्याम्पियनसिपमा पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको नेपाललाई अर्को खेल जित्नै पर्ने अवस्था थियो।

तर आयोजक भारतसँग नेपाल २-० ले पराजित भयो। तर यसैबिच पनि मलेसियामा भएको नेपाल र मलेसिया बिचको महिला क्रिकेट टोलीको शृङ्खला भने नेपालले जितेको थियो। पाँच खेलको शृङ्खला नेपालले ३-२ले जितेको हो।
  • राजनीति तर्फ मोर्चा गठन
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले मिलेर समाजवादी मोर्चा नेपाल गठन गरेको घोषणा गरे।

जुलाई

  • समलिङ्गी विवाहको अस्थायी विवाह दर्ता
नेपालमा सर्वोच्च अदालतले समलिङ्गी विवाहको अस्थायी विवाह दर्ता गरिदिन नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको सम्बन्धमा हामीले सामाग्री प्रस्तुत गरेका थियौँ।

यसबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कानुनको अभावमा विवाह गर्न नपाएको स्थितिको अन्त्य हुने विचार यस क्षेत्रका जानकारहरूले बताएका थिए।

र यही अनुरूप नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता पनि भयो  नोभेम्बर अन्त्यतिर। विवाह गर्ने जोडी थिए माया गुरुङ र सुरेन्द्र पाण्डे।
  • विश्व कप महिला फुटबल
विश्व कप महिला फुटबलको नवौँ संस्करणले विश्वको ध्यान तानिरहेका बेला हामीले नेपाली महिला फुटबल टोलीकी वर्तमान कप्तान एन्जीला तुम्बाप्पो सुब्बा र प्रशिक्षक अनन्तराज थापासँग कुराकानी गरेका थियौँ।

अगस्ट

  • विवाह नगरी सँगै बस्ने जोडीहरूको लागि उठेको आवाज
अगस्ट महिनामा हामीले नेपालको कानूनले विवाह नगरी जोडीहरू सँगै बस्न सक्छन् भन्ने कल्पना नगरेको भन्दै यस विषयमा विशेष कानूनको माग गरिएको बारे चर्चा गरेका थियौँ।

सेप्टेम्बर

  • पिता सम्मान दिवस
पिता सम्मान दिवस वा बोलीचालीको भाषामा बुवाको मुख हेर्ने दिनका बारेमा सामाग्रीहरू राख्यौँ।

जसमा हामीले काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा रहेको वृद्धाश्रममा रहेकाहरूसँगको कुराकानीका साथै साहित्यकार लक्ष्मण गाम्नागेसँग यस दिनसँग सम्बन्धित रहेर कुराकानी गरेका थियौँ।

अक्टोबर

  • इजरेल र प्यालेस्टिनी समूह हमास बिचको द्वन्द्वबारे नेपालीहरूको अनुभव
इजरेल र प्यालेस्टिनी समूह हमासका बिचको द्वन्द्वमा परेर मारिनेमा १० जना नेपाली पनि थिए।

उनीहरूको सम्झनामा नेपालमा राष्ट्रिय शोक मनाइएको केही समय पछि नेपाल वायुसेवा निगमको एक जहाज झन्डै २५० जना भन्दा बढीलाई बोकेर काठमाण्डू अवतरण गरेको थियो।

यसरी द्वन्द्व ग्रस्त इजरेलबाट सकुशल घर फर्किन सफल मध्येकी एक विभूषा अधिकारीसँग हामीले कुराकानी पनि गरेका थियौ।

नोभेम्बर

  • जाजरकोट भूकम्प
नोभेम्बर ३ मा नेपालले प्राकृतिक प्रकोपको सामना गर्नु पर्‍यो भूकम्पका रूपमा।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर कम्तीमा पनि १५७ जनाको ज्यान गुमाए भने घाइते हुनेहरूको सङ्ख्या २०० भन्दा बढी थियो।

भूकम्प पछिको अवस्थाबारे पनि हामीले समाचार सम्प्रेषण गर्‍यौँ।
  • टिकटक प्रतिबन्ध
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्धित गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालहरूमा उक्त निर्णयको समर्थन र विरोधमा आवाजहरू उठ्दै गर्दा हामीले पनि यस विषयलाई समेटेका थियौँ।
गृह मैदानमा भएको विश्वकप छनौट खेलमा शीर्ष दुईमा आफ्नो स्थान बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले  सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप खेल्ने अवसर पाउँदा हामीले क्रिकेटर अविनाश बोहरासँग आगामी टी–२० विश्वकपमा नेपालको योजना लगायतका विषयमा कुराकानी गरेका थियौँ।

डिसेम्बर

  • अस्ट्रेलिया-नेपाल उच्च स्तरिय भ्रमण
नोभेम्बर अन्त्य र डिसेम्बरको सुरुवाततिर नेपाली उच्च पदस्थ अधिकारीहरूको अस्ट्रेलिया भ्रमण बाक्लियो।

हुन त यो सिलसिला अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्सको मे महिनाको भ्रमणदेखि सुरु भएको थियो। 

अस्ट्रेलिया आउनेमा चाहिँ काठमान्डु महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना रहेका थिए।

यसका बारेमा हामीले चर्चा गर्‍यौँ नै साथमा यस्ता भ्रमणहरूको महत्वबारे विदेश मामिलाका जानकारसँगको कुराकानी पनि राख्यौँ।
  • नेपाली कला, संकृति र परम्परालाई प्राथमिकता
यी सबैका बिच हामीले नेपालमा हप्ताभर भएका प्रमुख घटनाहरूलाई समेटेर समाचार र विश्लेषण राख्यौँ भने संस्कृति र परम्परासँग जोडिएका विषयहरू पनि प्राथमिकतामा रहे।

जस्तै डोल्पा क्षेत्रको सङ्गीतलाई लिएर काठमान्डू आइपुगेका गायकहरूसँगको कुराकानी होस् या पूर्वी नेपालमा बसोबास गर्ने खालिङ समुदायमा प्रचलित रहेको साकेला नाच र आयोसा गायन।

नेपालका लोपोन्मुख भाषामध्ये सबैभन्दा सङ्कटमा परेको भाषा कुसुण्डाका बारेमा कुरा गरेका थियौँ।

सुदूरपश्चिमका देउडा गीतहरू देखि नेपालको मगर समुदायमा प्रचलित कौरा नाच त्यस्तै लिम्बु समुदायको ‘वेद’ भनिने मुन्धुमहरूको बारेमा पनि सम्प्रेषण गर्यौं।


Share