गत सात दिन नेपालमा: आत्मदाह बारे छानबिन समिति र कथित लाइभ बेटिङमा दुई क्रिकेटर पक्राउ

Cricketers arrest Nepal.jpg

Two Nepali cricketers - Mahaboob Alam (C) and Mohammad Aadil Alam (Aadil Ansari) were arrested for alleged live betting and spot-fixing. Credit: (L) AFP/Torsten Blackwood via Getty Images, (R) Facebook/Cricket Association of Nepal-CAN

Get the SBS Audio app

Other ways to listen

प्रेम प्रसाद आचार्यको आत्मदाह बारे छानबिन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन गरिएको छ। लाइभ बेटिङ र स्पट-फिक्सिङ गरेको कथित आरोपमा नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक दुई खेलाडी पक्राउ परेका छन्। यससँगै पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


गृह मन्त्रालयले बनायो छानबिन समिति

गृह मन्त्रालयले प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नु अघि सामाजिक सञ्जालमा राखेका विषयहरू बारे छानबिन गर्न बिहीबार ६ सदस्यीय समिति गठन गरेको छ। उक्त समितिमा गृह, उद्योग वाणिज्य, अर्थ, श्रम तथा रोजगार मन्त्रालय र नेपाल पुलिसका अधिकारीहरू रहेका छन्।

इलामका ३७ वर्षीय आचार्यले आत्मदाह गर्नु अघि जीविकोपार्जनका लागि विभिन्न व्यवसाय गरेको तर साना तथा मझौला व्यवसायीका लागी देशमा गरिखाने स्थिति नभएको भन्दै आफ्ना भोगाइहरूको ६ हजार भन्दा लामो शब्दको स्टेटस सामाजिक सञ्जालमा राखेका थिए।

त्यसमा उनले आफूले ऋण लिएर व्यवसाय गरेको तर ठुला व्यापारीहरूबाट समयमा आफ्नो सामानको पैसा उठाउन नसकेको र त्यसका कारण लगानी गर्दा लिएको ऋणको आकार बढ्दै गएको, साना व्यवसायीहरूलाई व्यापार गर्ने वातावरण नभएको र आफ्ना समस्या देशका केही ठुला व्यवसायी र नेताहरू समक्ष राख्दा पनि सुनुवाइ नभएको खोलिएको छ।

त्यस्तै, उनले स्वदेशी उत्पादनलाई सरकारले प्रोत्साहन नगरेको समेत लेखेका छन्। 

मङ्गलवार संसद भवन अगाडी पेट्रोल छरेर शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा बुधबार मृत्यु भएको थियो।

कीर्तिपुर स्थित बर्न अस्पतालका चिकित्सकहरूका अनुसार आचार्यको ८० प्रतिशत शरीर जलेको थियो।

आचार्यका परिवारसँग भेटेका तत्कालीन गृहमन्त्री रवि लामिछानेले सक्दो सहयोग गर्ने बताएका थिए।यस्तै साना तथा मझौला व्यवसायी एवं विभिन्न युवा समुदायहरूले आचार्यको मृत्युको विरोध गर्दै आएका छन्। 
केही दिनयता माइतीघरमा प्रदर्शन गर्दै आएका काठमाडौँ अपराइजिङका एक अभियन्ता अभिनन्दन खनियाले भने, "यस्तो घटना फेरी नदोहोरियोस् भन्न हामी यहाँ उपस्थित भएका हौँ। यो समस्या स्व प्रेम प्रसादजीको मात्र होइन।"

"पछिल्लो समय हामीले राज्य छ भन्ने नै महसुस गर्न छाडेका छौँ।"

उक्त घटना लगत्तै नेपाल प्रहरीले अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रूपमा बिक्री वितरण नगर्न आग्रह गरेको छ।

यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आचार्यको आत्मदाह प्रकरण मार्मिक रहेको र यसबारे सबैले आत्मसमीक्षा गर्नु पर्ने बताएका छन्।

ट्विटरमा उनले खेलेका छन्, "युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो सङ्कटमा फस्नेछ। आरोप,प्रत्यारोप होइन आत्मसमीक्षा गरौँ र सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौँ।"

होटेल, रेस्टुरेन्टले अतिरिक्त शुल्क लिन नपाउने

रेस्टुरेन्ट, होटेल आदीले ग्राहकबाट लिँदै आएको सेवा शुल्क अब देखि लिन नपाइने भएको छ। 

यस अघि होटेल तथा रेस्टुरेन्टहरूले ग्राहकहरूसँग अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए। श्रम ऐन २०७४को दफा ८७ (३) र श्रम नियमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा अतिरिक्त शुल्क लिएको व्यवसायीहरूले बताउँदै आएका थिए।  

तर यस विषयमा परेको रिटमा सर्वोच्च अदालतले संविधानको धारा ४४ र ११५ (१) को मर्म अनुसार यसो गर्न नमिल्ने भन्दै बुधबार आफ्नो फैसला सुनाएको हो। 

बक्सिङमा तामाङले जितिन् रजत पदक

थाइल्यान्डको  बैंककमा आयोजना भएको एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपालकी बक्सरले रजत पदक जितेकी छन्। 

नेपाली बक्सर सुष्मा तामाङले महिला ४८ किलो तौल समूहको प्रतिस्पर्धामा उक्त ऐतिहासिक पदक हात पारेकी हुन्। यसअघि नेपालले एसियन स्तरको प्रतियोगितामा कांस्य पदक मात्र हात पारेको थियो। 

फाइनलसम्म पुगेकी तामाङको स्वर्ण जित्ने सपना उज्बेकिस्तानकी बक्सर फोजिलोभा फरजोनले समाप्त पारेकी हुन्। यसअघि तामाङले क्वाटर फाइनलमा मङ्गोलियाको खेलाडी र क्वाटर फाइनलमा भियतनामकी खेलाडीलाई पराजित गरेकी थिइन्। 
यो पनि सुन्नुहोस्:
nepali_22012023_footbalpodcast5thepisode.mp3 image

शारीरिक र मानसिक तन्दुरुस्तीका लागि फुटबल

SBS Nepali

22/01/202343:44

एसईई चैत १७ देखि

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार सार्वजनिक गरेको तालिका अनुसार एसईई चैत १६ देखि २९ गतेसम्म चल्ने छ। परीक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

लामिछानेको सांसद पद रहेन

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेको छ। यससँगै लामिछानेको उपप्रधान एवं गृह मन्त्री र प्रतिनिधिसभाको सांसदको पद समेत गएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको केही महिना भित्रै प्रतिनिधिसभाको चौथो ठूलो दल बन्न सफल भएको पार्टीका अध्यक्ष लामिछानेले शुक्रबार साँझबाट सञ्चार कर्मीहरूसँग कुरा गर्दै आफू पार्टीको सदस्य समेत नरहेको बताए।

सर्वोच्च अदालतले शुक्रबार उनको नागरिकताको विषयमा परेको रिट निवेदनमा फैसला गर्दै उनी सांसद एवं उपप्रधान र गृहमन्त्री रहन अयोग्य रहेको फैसला सुनाएको हो।उनले असारमा खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष र समानुपातिक गरी २० सांसद छन्।

उनको दलको नेतृत्व गर्दै लामिछाने पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवं गृहमन्त्री थिए।
सर्वोच्चको फैसलापछि उनी सरकारबाट बाहिरिन बाध्य भएका छन् ।मन्त्रालयबाट बाहिरिँदै गर्दा लामिछानेले अदालतको फैसलाको सम्मान गर्ने बताएसँगै उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न व्यङ्ग्य पनि गरे।

सुरुमा नेपाल टेलिभिजन र रेडियोमा कार्यक्रम र कमेडी सोमा काम गरेका लामिछाने करिब एक दशक अमेरिका बसेका थिए ।

त्यसपछि उनले नेपाल फर्किएर टेलिभिजनमा सिधा कुरा जनतासँग भन्ने कार्यक्रम सञ्चालन गरे र सोही कार्यक्रम सञ्चालन गरेका कारण उनी लोकप्रिय बने।

मूलतः वैदेशिक रोजगारीमा रहेका युवाहरू उनका समर्थक भए।तर अमेरिकी नागरिकता र पासपोर्ट लिइसकेका लामिछाने नेपाल आइसकेर पनि लामो समय नेपाली नागरिकता लिने प्रक्रियामा लागेनन्। 

पछि प्रेस काउन्सिलले यसबारे प्रश्न उठाएपछि उनले अमेरिकी राहदानी र नागरिकता त्याग गरेको घोषणा गर्दै त्यसको निस्सा लिएको दाबी गरेका छन्। तर कानुन अनुसार नागरिकता त्याग गरेपछि पुनः प्राप्तिका लागि प्रक्रिया सुरु गर्नुपर्छ, जुन लामिछानेले नगरेको सर्वोच्चले ठहर गरेको हो। 

लाइभ बेटिङ र स्पट-फिक्सिङको कथित आरोपमा दुई क्रिकेटर पक्राउ

नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक दुई खेलाडी लाइभ बेटिङ र स्पट-फिक्सिङ गरेको कथित आरोपमा पक्राउ परेका छन्।

दुई साता अघि सम्पन्न भएको नेपाल टी-२० लिगमा फिक्सिङ भएको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्रिय टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम पक्राउ गरेको हो।

प्रहरीले आदिललाई राजबिराज र महबुबलाई बिराटनगरबाट पक्राउ गरेको हो।

सीआईबीले अन्य व्यक्ति पनि अनुसन्धानको घेरामा रहेको बताएको छ। केही साता अघि लिगमा कमेन्ट्री गरिरहेका एक कमेन्टेटरले स्पट-फिक्सिङ भएको आरोप लगाउँदै काम छोडेका थिए।

यस्तै काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि यस विषयमा एन्टी करप्सन युनिटमा उजुरी दिएका थिए। आदिल राष्ट्रिय टोलीमा राम्रा अलराउन्डरका रूपमा चिनिन्छन्।

यस्तै तीव्र गतिका बलर महबुबले सन् २००८मा मोजाम्बीक विरुद्धको खेलमा १० वटै विकेट लिएर दुर्लभ कीर्तिमान बनाएका थिए। उनले सन् २००० देखि २०१७सम्म राष्ट्रिय टोलीबाट खेलेका हुन्।
यो पनि सुन्नुहोस्:
nepali_15012023_WeeklyRoundupNepal.mp3 image

सशर्त सन्दीप लामिछानेको रिहाइ र यस अघि अपेक्षा अनुरूप काम गर्न नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति: गत सात दिन नेपालमा

SBS Nepali

14/01/202310:49

अध्यागमनको सर्भरमा समस्या

शनिबार त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या देखियो जसका कारण हजारौँ यात्रीहरू अलपत्र परे। अधिकारीहरूका अनुसार उक्त समस्याका कारण करिब १० वटा उडान प्रभावित हुन पुगे।

करिब ५ घण्टा सर्भर डाउन भएपछि विमानस्थलका कर्मचारीले यात्रुहरूको विवरण हातले लेखेर काम चलाएको बताएका छन्।

अधिकारीहरूका अनुसार सिंहदरबार भित्र रहेको एकीकृत डेटा सेन्टर मार्फत सञ्चालन हुने वेबसाइटहरूमा शनिबार समस्या देखिएको थियो।

Share