गत सात दिन नेपालमा: नेपालको जनसङ्ख्या घट्यो र सर्वसाधारणका लागि खुल्यो रानीपोखरी

Kathmandu, Nepal - April 1, 2019: Crowded and busy commercial street of Asan Tole near Indra Chowk

A representational image of the Nepali population. Credit: Krzysztof Dydynski/Getty Images

Get the SBS Audio app

Other ways to listen

शुक्रवार सार्वजनिक भएको २०७८ को जनगणनाको अन्तिम र विस्तृत प्रतिवेदनले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको देखाएको छ। यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


जनगणना सार्वजनिक

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

शुक्रवार सार्वजनिक भएको २०७८ को जनगणनाको अन्तिम र विस्तृत प्रतिवेदनले उक्त तथ्याङ्क देखाएको हो।

जस मध्ये ५१. ०२ प्रतिशत महिला र ४८.९८ प्रतिशत पुरुष गरेका छन्। यस्तै अन्य लिङ्गीको सङ्ख्या २ हजार ९२८ रहेको छ।

नयाँ तथ्याङ्कका अनुसार नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ। साक्षरता दर पाँच वर्ष वा सोभन्दा माथिको उमेरको कूल जनसङ्ख्याको आधारमा लिइएको अधिकारीहरूले बताएका छन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको जनसङ्ख्या घट्दो क्रममा गएको र यसलाई सम्बोधन गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्ने बताए।

"यी तथ्याङ्कको आधारमा सरकारले नीति, बजेट, योजनाहरू बनाउन पर्छ। यसले नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्तिको गर्न मदत गर्ने छ," प्रधानमन्त्रीले भने।

पछिल्लो सरकारी आँकडाका अनुसार २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा रहेका छन्।

प्रधानमन्त्रीले लिए विश्वासको मत

सरकार सम्हालेको तीन महिना नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिएका छन्।

प्रचण्डले सोमबार उनलाई प्रतिनिधिसभाको विश्वास छ भनी प्रस्ताव राखे।

मङ्सिर चार गते सम्पन्न निर्वाचन पछि प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई समर्थन गरेका दलमध्ये नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि उनले फेरी विश्वासको मत लिएका हुन्।

उक्त प्रस्तावको पक्षमा १७२ जना र विपक्षमा ८९ सांसदले मत हाले। संसद् सचिवालयका अनुसार १ सांसद भने मतदानमा सहभागी रहेनन्।

प्रतिपक्षमा रहने बताएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यती छिटो दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले निकट भविष्यमा फेरी विश्वासको मत माग्ने त होइन भनी व्यङ्ग पनि गरे।

नेकपा एमालेका नेता एवं सांसद विष्णु पौडेलले पुस १० गते सरकार बनाउँदाको सम्झौता के कारणले तोडिएको भनी प्रश्न गरे।

नेकपा एमालेसँग एजेन्डा नमिलेकोले सहकार्य टुटेको जवाफ प्रचण्डले दिए।
साथै यस पटक विश्वासको मत लिँदा प्रतिरक्षात्मक देखिएका प्रचण्डले पछिल्लो गठबन्धनका दलहरूको एजेन्डा मिलेकाले त्यस्तो स्थिति नआउने बताए।

'अहिलेको गठबन्धन टिक्ने प्रचुर सम्भावना छ किनभने एजेन्डाको हिसाबले एकै ठाउँमा छौँ।'

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको र त्यस हिसाबमा ओलीले उनलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताए।

राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर निर्वाचन लगत्तै बनेको गठबन्धन सरकारको समीकरण फेरिएको थियो।

मङ्सिरमा सम्पन्न निर्वाचनबाट तेस्रो ठुलो दल बनेको माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्दे नेकपा एमाले र राप्रपा सरकारमा प्रवेश गरेका थिए।

उक्त सरकार बनाउँदा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको दाबी एमालेका शीर्ष नेताहरूले सार्वजनिक रूपमै गरेका थिए।

तर नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई माओवादी केन्द्रले समर्थन गरेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन पछि विश्वासको मत लिने बताउँदै आएका थिए।

सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउनु पर्छ: गगन थापा

पछिल्लो समय सङ्क्रमणकालीन न्यायालय निकै चर्चा पाएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध द्वन्द्व कालमा भएका घटना र त्यसको सजायको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेपछि यस विषयमा चौतर्फी चर्चा हुन थालेको हो।
LISTEN TO
nepali_260323_NepalWrap_final image

पुरा रिपोर्ट सुन्नुहोस्

16:06
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

यस क्रममा विश्वासको मत रहेको प्रस्ताव पेस गर्दे प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनु पर्ने जिम्मेवारी सरकारको रहेको पनि बताए।

सरकारले यस सम्बन्धी विधेयक संसद्मा दर्ता गरेको पनि उनले जानकारी दिए।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि यस साता एक सार्वजनिक कार्यक्रममा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन अब ढिलो गर्न नहुने बताए।

"हामीसँग अब समयको सुविधा छैन, अझै लम्ब्याएर लग्यौँ भने झन् अल्झिँदै जान्छ। अझ अन्याय हुन्छ। अब जतिसक्दो सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन पर्छ,"

प्रेस युनियनले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले शान्ति प्रक्रियामा सहभागी सबै दलहरूले यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताए।

यसैबिच सरकारले दर्ता गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन हाल्न तयारी गर्न नेकपा एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संशोधन हाल्न तयार रहन बताएका हुन्। नेकपा एमालेले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन माग गर्दै आएको छ।

जहाजको झ्याल खुला राख्ने प्राविधिकलाई कारबाही

जहाजको झ्याल खुला राखेको कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले २ जना प्राविधिकलाई कारबाही गरेको बताएको छ।

ती प्राविधिकहरूले नेपाल वायुसेवा निगमको ए ३३० अन्नपूर्ण जहाजको ककपिटका झ्याल खुला राखेको भेटिएको अधिकारीहरूले बताएका छन्।

प्राधिकरणद्वारा जारी विज्ञप्तिका अनुसार पाइलट, को-पाइलट बस्ने ककपिटको मेन्टेनेन्सपछि प्राविधिकले रातभर झ्याल खुला राखेको भेटिएको हो र सोही कारण अर्को सूचना जारी नहुँदासम्म उनीहरूलाई निलम्बन गरिएको हो।

होटेल बन्द गर्ने होटेल व्यवसायीको चेतावनी

होटल सङ्घ नेपाल (हान)ले सरकारले उक्त व्यवसायमा देखिएको समस्या समाधान गर्न पहल नगरे व्यवसाय नै बन्द गर्ने चेतावनी दिएका छन्।

कोभिड पछि होटल व्यवसाय धराशायी बन्दै गएको र यस बारेमा सरकारको ध्यानाकर्षण गराउँदा पनि समस्याको समाधानको लागि पहल नभएको उनीहरूले बताए।

जसका कारण होटल व्यवसायीहरूले ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको साँवा र व्याज तिर्नै नसक्ने अवस्थामा पुगेको उनीहरूले बताएका छन्।

"होटेलहरू चालु खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेका छन्,"

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हालका प्रथम उपाध्यक्ष विनायक साहले भने, "यस विषयमा नेपाल राष्ट्र ब्याङ्क लगायत सरकारी संस्थाहरूमा पटक पटक बैठक, ज्ञापन पत्र बुझाउने लगायतका प्रयासहरू भए तर नतिजा आउन सकेन।"

सरकारले उनीहरूको समस्या सम्बोधन नगरे व्यवसायीहरूले होटेलहरू बन्द गर्न पर्ने अवस्था आएको पनि उनले बताए।

सर्वसाधारणका लागि खुल्यो रानीपोखरी
Nepal's President Bidya Bhandari and Prime Minister KP Sharma Oli pouring holy water into the newly renovated Rani Pokhari in Kathmandu.
Bidya Devi Bhandari and KP Sharma Oli pouring holy water into the newly renovated Rani Pokhari in Kathmandu. Credit: RSS
काठमाण्डौं महानगरपालिकाले सर्वसाधारणका लागि रानीपोखरी बुधवारबाट खुला गरेको छ।

पुनर्निर्माण पछि रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको महानगरले जनाएको छ।

रानीपोखरी पुनर्निर्माणपछि पहिलो पटक सर्वसाधारणको लागि खुला गरिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए।

२०७२ सालको भूकम्पले क्षति ग्रस्त भएको रानीपोखरीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरानै स्वरुपमा निर्माण गरेर २०७८ पुष महिनामा महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।

कुँवर एआईजी नियुक्त

वसन्त बहादुर कुँवर नेपाल प्रहरीको प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) नियुक्त भएका छन्।

हालै मात्र सरकारले कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीलाई आइजिपी पदमा बढुवा गरेको थियो।

बढुवा भएका मध्येबाट शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले कुँवरलाई एआईजी नियुक्त गर्ने निर्णय गरेको हो।


Share