सङ्घीय बजेट २०२३-२४: तपाईँलाई कसरी प्रभाव पार्न सक्छ?

सङ्घीय ट्रेजरर जिम चार्मसले मङ्गलवार राति लेबर सरकारको दोस्रो बजेट सार्वजनिक गरेका छन्। यसपालिको बजेटले महँगीका बिच जीवनयापनको बढ्दो लागतलाई कम गर्न ध्यान केन्द्रित गरेको सरकारको भनाई छ। भाडामा बस्ने मानिस, वृद्ध हेरचाह केन्द्रका कर्मचारी र बेरोजगारहरूका लागि आउँदो बजेटमा केही परिवर्तनहरू देखिएका छन्।

FEDERAL BUDGET 2023

Australian Treasurer Jim Chalmers speaks at a press conference inside the Budget lockup at Parliament House in Canberra, Tuesday, May 9, 2023. Source: AAP / LUKAS COCH/AAPIMAGE

मुख्य विषयहरू:
  • ट्रेजरर जिम चामर्सले मङ्गलवार राति यसपालिको सङ्घीय बजेट सार्वजनिक गरेका हुन्।
  • सन् २०२३-२४ को बजेटमा जीवनयापनको बढ्दो लागतमाथि ध्यानाकर्षण गरिएको छ।
  • वृद्ध हेरचाह कर्मचारीहरूको तलब बढ्ने बताइएको छ भने केही भिसा आवेदनका शुल्कमा वृद्धि हुने सरकारले घोषणा गरेको छ।
लेबर सरकारले मङ्गलवार ल्याएको सन् २०२३-२४ को बजेटले केही अस्ट्रेलियालीहरू फाइदामा रहने र केहीलाई भने थप भार पर्ने देखिएको छ।

उक्त १४.६ अर्बको प्याकेज मार्फत जीवनयापनको बढ्दो लागतलाई कम गर्न सरकारले ध्यान केन्द्रित गरेको छ।

अस्ट्रेलिया आउन चाहने विद्यार्थी र पर्यटकहरूका लागि भने केही शुल्क वृद्धि भएको पाइन्छ।

यसपालिको बजेट मार्फत गरिएका महत्त्वपूर्ण निर्णयहरू के हुन्?

महँगीका कारण सर्वसाधारण र साना व्यवसायीहरूलाई परेको प्रभाव कम गर्ने योजना सहित यस पटकको बजेटमा नवीकरणीय ऊर्जा र स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयास देखिएको छ।

यस बाहेक आप्रवासन नीतिमा हेरफेर, सर्वसुलभ बाल स्याहार, महिला र यौन हिंसाका विरुद्ध नीति अपनाउने जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा लगानी गर्ने सरकारको योजना छ।

दक्ष जनशक्तिलाई आप्रवासन कार्यक्रममा प्राथमिकता

बजेटले देशमा रहेको दक्ष कामदारको अभावलाई सम्बोधन गर्नका लागि सन् २०२३/२४ को स्थायी बसोबासको कार्यक्रमका लागि उपलब्ध रहेका १९०,००० सिट मध्ये करिब ७०% "स्किल्ड स्ट्रिम" अन्तर्गत प्रदान गर्ने निर्णय गरेको छ।

यस बाहेक थप दक्ष कामदार भित्र्याउनका लागि टेम्पररी स्किल्ड माइग्रेसन इन्कम थ्रेशहोल्ड (टिएसएमआईटी) भनिने न्यूनतम वार्षिक तलबलाई पनि वृद्धि गर्ने सरकारले बताएको छ।

हाल ५३,९०० न्यूनतम तलबको दायरालाई बढाएर १ जुलाईदेखि ७०,००० न्यूनतम पुर्‍याउने निर्णय बजेट मार्फत भएको हो।

यस बारेमा गत हप्ता गृह मामिला मन्त्री क्लेयर ओ निलले घोषणा गरेकी थिइन्।

अन्तर्राष्ट्रिय विद्यार्थीको काम गर्न पाउने घण्टामा हेरफेर

अन्तर्राष्ट्रिय विद्यार्थीले निश्चित घण्टा मात्र काम गर्न पाउने नियम १ जुलाईदेखि पुनः लागु हुने भएको छ।

कोभिड-१९ को समयमा हटाइएको उक्त नियम आउँदो जुलाई १ देखि फेरी लागु हुने भएको हो।

पहिले पाक्षिक रूपमा ४० घण्टा रहेको प्रावधानलाई ८ घण्टा बढाएर ४८ घण्टा बनाइएको छ।

एज्ड केयरको क्षेत्रमा काम गर्ने विद्यार्थीका हकमा भने ३१ डिसेम्बरसम्म यो नियम लागु हुने छैन।

टेम्पररी स्किल्ड शर्टेज भिसावाहकलाई पिआर पाउने बाटो खुला

टेम्पररी स्किल्ड शर्टेज (टिएसएस) भिसा सबक्लास ४८२ मा रहेका मानिसहरूले इम्प्लोयर नोमिनेसन स्कीम सबक्लास १८६ मा जान नमिल्ने यस अघिको नियम हटाइएको छ।

यसबाट टिएसएस अन्तर्गत रहेकाहरूलाई स्थायी बसोबासका लागि बाटो खुल्ने छ।

यसबाहेक अनशोर टिएसएस भिसा एक पटक मात्र थप्न मिल्ने नियम पनि हटाइएको छ।

हाल अस्ट्रेलियामा १७३,००० भन्दा बढी आप्रवासीहरू पाँच वर्ष भन्दा बढी समयदेखि अस्थायी वा विद्यार्थी भिसामा बस्दै आएका छन्।
Prime Minister Anthony Albanese and Treasurer Jim Chalmers standing and shaking hands.
Prime Minister Anthony Albanese and Treasurer Jim Chalmers have delivered their second budget. Source: AAP / Mick Tsikas

बजेटबाट नाफामा परेका विषयहरू

केही कर्मचारीहरूको तलब वृद्धि र योग्य व्यक्तिहरूको कर छुटको निरन्तरता लगायत यस पटकको बजेटबाट फाइदा पुगेका विषयहरूको चर्चा गरौँ।

वृद्ध हेरचाह केन्द्रका कर्मचारीहरूको तलब वृद्धि

बजेट मार्फत वृद्ध हेरचाह केन्द्र अर्थात् एज्ड केयर क्षेत्रका कर्मचारीको तलब वृद्धिका लागि सरकारले ११.३ अर्ब डलरको घोषणा गरेको छ।

वृद्ध स्याहारको क्षेत्रमा कार्यरत व्यक्तिहरूको समर्पण र दक्षतालाई सम्मान गर्न र उनीहरूको सेवालाई निरन्तरता दिनका लागि फेयर वर्क कमिसनले गरेको १५% तलब वृद्धिको निर्णयलाई सरकारी बजेटले समर्थन जनाउने बताइएको छ।

जीपीको सेवा लिने युवा र वृद्ध बिरामीहरू

जीपीको सेवामा प्रयोग गर्दा मेडिकेयरले शुल्क बेहोर्ने अर्थात् "बल्क बिलिङ" सुविधाको दायरलाई तीन गुणाले बढाइएको छ।

यो १६ वर्ष भन्दा कम उमेरका मानिसहरू र पेन्सन पाइरहेका तथा कन्सेसन कार्ड भएकाहरूले सामान्य किसिमको जीपीको सेवा लिँदा लागु हुन्छ।

यसको फाइदा १ करोड १० लाख अस्ट्रेलियालीहरूले प्राप्त गर्ने सरकारको आशा छ।

यसै गरी २० मिनेटसम्मको टेलिहेल्थ सेवालाई पनि यसमा समेटिएको छ।

एकल अभिभावक

एकल अभिभावकले प्राप्त गर्दै आएको आर्थिक सहयोगलाई पनि बजेट मार्फत बढ्ने भएको छ।

यस अघि सन्तान ८ वर्ष हुँदासम्म मात्र प्राप्त हुने यस सरकारी सहयोग, अभिभावकले सन्तान १४ वर्ष नकटेसम्म पाउने बताइएको छ।

यसको मतलब करिब ५७,००० एकल अभिभावकले यस अघि पाउँदै आएको रकममा पाक्षिक रूपमा थप १७६.९० डलर पाउने छन्।
घरधनीहरू

घरमा सोलार प्यानल राख्न र घरलाई उज्यालो बनाउनलाई पुनर्निर्माण गर्न पनि अब कम खर्चिलो बनाउने योजना सरकारले बजेट मार्फत सार्वजनिक गरेको छ।

उक्त १.३ अर्ब डलरको योजना मार्फत घरलाई कम ऊर्जा खपत गर्ने गरी पुनर्निर्माण गर्न चाहनेका लागि सरकारले सस्तो दरमा ऋण उपलब्ध गराउने बताएको छ।

पारिवारिक र यौन हिंसा सम्बन्धी सेवाहरू

विभिन्न राज्यहरूसँगको सहकार्यमा पारिवारिक र यौन हिंसाको क्षेत्रमा काम गर्ने संस्थाहरूले दुई वर्षको अवधिमा अतिरिक्त करिब १६ करोड प्राप्त गर्ने भएका छन्।

पारिवारिक न्याय सेवा, आपत्कालीन वासस्थान सेवा र यौन हिंसामा प्रारम्भिक हस्तक्षेप गर्ने संस्थाहरूलाई सरकारले उक्त रकम दिने बताएको हो।

धनी अस्ट्रेलियालीहरू

अघिल्लो गठबन्धन सरकारले ल्याएको 'स्टेज थ्री ट्याक्स कट' भनिने योजना मार्फत अस्ट्रेलियाका उच्च आय भएका मानिसहरूले कर छुटमा निरन्तरता पाउने भएका छन्।

लेबर सरकारले समर्थन गरेको उक्त योजना मार्फत १० वर्षे अवधिमा सरकारलाई २०० अर्ब घाटा लाग्ने अनुमान गरिएको छ।

यस पटकको बजेटमा यसलाई प्राथमिकता नराखिएको ट्रेजरर जिम चार्मसले बताएका छन्।

"ट्वीगी फरेस्ट"

"ट्वीगी फरेस्ट" भनेर पनि चिनिने अस्ट्रेलियाका खानी व्यवसायी जोन एन्ड्रु हेन्री फरेस्ट यस पटक सरकारले ४ अर्बको नवीकरणीय ऊर्जा योजना मार्फत फाइँदामा पर्ने व्यवसायी हुने भएका छन्।

सरकारले बजेट मार्फत "ग्रीन हाइड्रोजन" प्रवर्द्धन कार्यक्रमका लागि २ अर्ब डलर खर्च गर्ने बताएको छ।

यस योजनाले ग्रिन हाइड्रोजन सम्बन्धी योजना अघि बढाउन सहयोग गर्ने सरकारी मान्यता छ।
Andrew 'Twiggy' Forrest speaking about 'green hydrogen' (AAP)
Andrew 'Twiggy' Forrest speaking about 'green hydrogen' - Darren England Source: AAP

बजेटबाट घाटामा परेका विषयहरू

यस पटकको बजेटले सबै क्षेत्रमा फाइदा मात्र पुर्‍याएको छैन, केही क्षेत्रलाई घाटा पनि हुने देखिएको छ।

भिसा आवेदन शुल्कमा वृद्धि

सरकारले बजेट मार्फत आगामी जुलाईदेखि अस्ट्रेलियाको भिसा आवेदन दिँदा लाग्ने शुल्कमा ६ % वृद्धि गर्ने घोषणा गरेको छ।

भिजिटर भिसा, वर्किङ्ग होलिडे, वर्क एन्ड होलिडे, ट्रेनिङ भिसा, टेम्पररी एक्टीभिटी, सर्ट स्टे स्पेसलिस्ट लगायत भिसामा शुल्क वृद्धि हुने बताइएको हो।

भिजिटर भिसा अन्तर्गतको सबक्लास ६०० का लागि यस अघि आवेदन शुल्क १५० डलर रहेकोमा यो बढेर १९० डलर पुग्नेछ।

यसै गरी स्टुडेन्ट ५०० भिसाको शुल्क पनि ६५० डलरबाट बढेर ७१५ डलर पुग्ने भएको छ।

यसै गरी ब्यागप्याकर भिसा पनि भनिने वर्किङ्ग होलिडे भिसाको शुल्क ५१० डलरबाट बढेर ६४० डलर पुग्दै छ।

तर प्रशान्त क्षेत्रका देशहरूमा लागु प्यासिफिक इन्गेजमेन्ट भिसामा भने शुल्क वृद्धि नहुने बताइएको छ।

शुल्क वृद्धिबाट उठ्ने करिब ६६ करोड डलर भन्दा बढी रकम सरकारले भिसा प्रोसेसिङलाई छिटो बनाउन र अरू सरकारी प्राथमिकताहरूमा खर्च गर्ने जनाएको छ।

यस बाहेक भ्रमणका लागि वा छुट्टीका लागि विदेश भ्रमणमा जाने अस्ट्रेलियालीहरूले पनि अतिरिक्त रकम तिनु पर्ने बताइएको छ।

अन्तर्राष्ट्रिय उडान वा समुन्द्री बाटो प्रयोग गर्नेहरूलाई लाग्दै आएको 'द प्यासेन्जर मुभमेन्ट चार्ज' भनिने शुल्क ६० डलरबाट बढाएर ७० डलर पुराइँदै छ।
सुपरमा अतिरिक्त कर

तत्कालै लागु नहुने भएतापनि सुपर खातामा धेरै रकम जम्मा भएकाहरूको करको दायरा पनि बढ्ने भएको छ।

हाल १५ प्रतिशत कर लाग्दै आएकोमा ३० लाख डलर भन्दा बढी रकम सुपरमा रहेकाहरूले सन् २०२५ देखि ३० प्रतिशत कर तिर्नु पर्ने बताइएको छ।

बहुराष्ट्रिय कम्पनीहरू माथि करमा कडाइ

यस अघि बहुराष्ट्रिय कम्पनीहरूलाई दिइँदै आएको छुट र सुविधाहरूमा सरकारले कडाइ गर्ने भएको छ।

सन् २०२४ जनवरी १ देखि लागु हुने गरी ठुला बहुराष्ट्रिय कम्पनीहरूले कम्तीमा पनि १५ प्रतिशत कर तिर्नु पर्ने नियम ल्याउने बताइएको हो।

सुर्तीजन्य पदार्थको मूल्य वृद्धि

सुर्तीजन्य पदार्थ र भेपिङ सम्बन्धी सामाग्री उत्पादनहरूमा सरकारले कडाइ गर्ने सरकारको भनाइ छ।

चुरोटमा बढ्ने ५ % करले एक प्याकेट चुरोटको मूल्य अब ५० डलरसम्म पुग्ने भएको छ।

सरकारले यसबाट करिब ३ अर्ब डलर भन्दा बढी रकम करका रूपमा उठाउने बताएको छ।

चुरोटको सट्टामा प्रयोग हुने "भेप" डाक्टरी पर्चा बिना खरिद गर्न नपाइने भएको छ भने चिकित्सकले खरिद गर्न अनुमति दिएका भेपहरू पनि स्वाद रहित र औषधि जस्तै प्याकेजिङमा आउनु पर्ने बताइएको छ।
A high school principal displays vaping devices that were confiscated from students in restrooms or hallways
A high school principal displays vaping devices that were confiscated from students in restrooms or hallways. Source: AAP

विवादमा परेका विषयहरू

घाटा र नाफा बाहेक केही क्षेत्रले भने बजेटबाट अपेक्षाकृत परिणाम पाएका छैनन्।

भाडामा बस्ने व्यक्तिहरू

भाडामा बस्ने र कम आम्दानी भएका मानिसहरूलाई सरकारी सहयोगको दायरा बढेको छ।

"द कमनवेल्थ रेन्ट असिस्टेन्स" भनिने भाडा तिर्नका लागि रहेको सरकारी सहयोगको रकममा १५% वृद्धि गर्ने बजेट मार्फत निर्णय भएको छ।

यसको मतलब एक्लै बस्ने मानिसहरूले अब साप्ताहिक रूपमा ९०.३९ डलर घर भाडा सहयोगका रूपमा प्राप्त गर्नेछन्।

यसबाहेक तीन सन्तान भएका "फ्यामिली ट्याक्स बेनेफिट" प्राप्त गरिरहेकाहरूले बर्षिक ८०० डलर रकम प्राप्त गर्नेछन्।

कल्याणकारी भत्ता प्राप्त गर्ने व्यक्तिहरू

जीवन यापन महँगो बन्दै गइरहेको अवस्थामा बजेटले सरकारी भत्तामा निर्भर व्यक्तिहरूलाई केही राहत दिने कोसिस गरेको छ।

सेप्टेम्बरको अन्त्यदेखि निम्नलिखित भत्ता पाइरहेका मानिसहरूले हप्तामा थप २० डलर प्राप्त गर्नेछन्।
  • जबसीकर
  • युवाहरूले प्राप्त गर्ने भत्ता - यूथ अलावेन्स
  • द पार्टनर्ड पेरेन्टस पेमेन्ट
  • अज्स्टडी
  • एबीस्टडी
  • द यूथ डिस्अबिलिटी सपोर्ट पेन्सन
  • द स्पेसल बेनेफिट पेमेन्ट
यस बाहेक ५५ वर्ष माथिका मानिसहरूले पाक्षिक रूपमा ९२.१० डलर थप रकम प्राप्त गर्नेछन्।

साना औषधी व्यवसायीहरू

सरकारी बजेटले एउटै पर्चा र कम शुल्कमा दुई महिनासम्मलाई पुग्ने औषधी किन्न पाउने नियम ल्याएको छ।

आगामी सेप्टेम्बरबाट लागु हुने उक्त नियमले सयौँ औषधीहरूको मूल्य पनि सस्तो पार्ने बताइएको छ।

यद्यपि केही औषधी पसलेहरूले भने यसको विरोध गरेका छन्।

यस नियमले साना व्यवसायहरू बन्द गर्ने अवस्था आउने उनीहरूको भनाइ हो।

स्वास्थ्य मन्त्री मार्क बट्लरले केही व्यवसायीका लागि यो चुनौतीपूर्ण हुने स्वीकारेका छन्।

तर करिब ६० लाख बिरामीहरूका लागि भने यो खुसीको खबर हो।

Share
Published 10 May 2023 3:20pm
Updated 11 May 2023 9:56am
By Krishna Pokhrel
Source: SBS


Share this with family and friends