"कोभिड वार्डमा हुँदाको अनुभव डरलाग्दो छ"

भिक्टोरियामा कोभिड-१९ बारे एक विशेष विज्ञापन अभियान सुरु गरिएको छ।

कोरोनाभाइरसका दीर्घकालीन असर बारे जनचेतना फैलाउन भिक्टोरियाली सरकारले सो अभियान सञ्चालनमा ल्याएको हो।

कोभिड-१९ सङ्क्रमित भएका र त्यस विरुद्ध पहिलो पङ्क्तिमा बसेर कार्यरत स्वास्थ्यकर्मीहरू सम्मिलित सो विज्ञापन अभियानबाट कोरोनाभाइरसबारे समुदायमा व्याप्त भ्रम निवारण गर्न मद्दत पुग्ने राज्य सरकारको धारणा छ।

भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुज भन्छन् कि यी विज्ञापनहरू कल्पना गर्न सकिने सबैजसो माध्यमहरूमा प्रसारण हुनेछ।
"सम्भव भएसम्म धेरै भन्दा भिक्टोरियालीहरूलाई उनीहरूको उमेर वा उनीहरूको स्वास्थ्यको स्थितिका आधारमा यो भाइरसले भेदभाव गर्दैन भन्ने कुरा बताउन खोजेका हौँ," उनले भने।

यसका साथै बहुसाँस्कृतिक पृष्ठभूमिका स्वास्थ्यकर्मीहरू सम्मिलित एक अर्को विज्ञापन श्रङ्खला पनि सार्वजनिक हुँदैछ जसमा कोरोनाभाइरसको फैलावट बारे अङ्ग्रेजी बाहेकका भाषामा बताइने छ।

"म तपाईँलाई जानकारी दिन सक्दछु कि हामीले धेरै विज्ञापनहरू सुट गरेका छौँ जहाँ नर्सहरूले हाम्रो आग्रहमा यी विज्ञापनहरू वास्तवमै आफैँ बनाएका हुन्, जसमा उनीहरूले आफ्नै भाषामा बहुसांस्कृतिक समुदायहरूसँग कुरा गरिरहेका छन्," एन्ड्रयुजले भने।
Victorian Premier Daniel Andrews
Victorian Premier Daniel Andrews Source: AAP
प्रिमियरका अनुसार, विशेष गरी अङ्ग्रेजी भाषामा राम्रो दक्खल नभएका मानिसहरूका लागि ती विज्ञापन उपयोगी हुनेछन्।

"यसले गर्दा कोरोनाभाइरस विरुद्धको हाम्रो प्रयासमा सबैभन्दा अन्तिम अस्त्रका रूपमा रहेका स्वास्थ्यकर्मीहरूलाई आफ्नो काम गर्न केही सजिलो हुने हामीले आसा लिएका छौँ," उनले भने।

जुन ब्रेहेनी यस्तै एक विज्ञापनमा देखा पर्छिन्।

ब्रेहेनी भन्छिन् कि खाना खाने ट्युब सहित आफूलाई अस्पतालको खाटमा पाएपछि मात्रै कोरोनाभाइरस कति खतरनाक छ भन्ने कुरा उनले चाल पाइन्।
७० वर्षिया जुन ब्रेहेनीले ३२ दिन अस्पतालको सघन उपचार कक्षमा बिताइन।

उनलाई हेर्ने चिकित्सकहरूले ब्रेहेनी जिउँदै त्यहाँबाट निस्कने आसा लगभग मारिसकेका थिए।

हाल अस्पतालबाट बाहिरिन सफल भए पनि कोरोना सङ्क्रमणका सुरुवाती दिनहरू आधा लडाइँ मात्र भएको ब्रेहेनीको भनाई छ।

"मलाई अहिले ब्रेन ड्यामेज हुन्छ कि भन्ने डर छ," उनले भनिन्।
"मलाई जिउको दाहिने पट्टि कमजोरी महसुस भइरहेको छ र मेरो दाहिने हातको नसा बिग्रेको छ। मलाई आसा छ कि म पुरै नभए पनि अधिकांश रूपमा निको हुनेछु। "
यसै गरी सेरा र स्याम - दुवै जना जो रोयल वुमन्स अस्पतालमा मिडवाइफका रूपमा कार्यरत छन् - उनीहरूले पनि आफ्नो अनुभव बाँडेका छन्।

सेरा भन्छिन् कि कोरोना सङ्क्रमण पश्चात् उनलाई आफू केही गर्न नसक्ने "असक्षम" भएको अनुभूति भयो।

"मेरो फोक्सोको भित्री भाग सुन्निएर सासै फेर्न नसकिने जस्तो भयो, बल्ल तल्ल सास फेर्दा पनि सही नसक्ने गरी दुख्ने," उनले भनिन्।
Sarah hasn't seen her two sons in over a month.
Sarah hasn't seen her two sons in over a month. Source: Victoria State Government
"कोरोनाभाइरसले मेरो सम्पूर्ण शरीरमा आक्रमण गरेको जस्तो लाग्यो।"
दुई स-साना बालकहरूकी आमा समेत रहेकी सेरालाई सबैभन्दा गाह्रो चाहिँ आफ्ना ती बच्चाहरूको सुरक्षालाई लिएर भएको छ।

"हाल म उनीहरूबाट अलग्गिएको छु। पाँच छ हप्ता भइसक्यो र यो दुःख व्यक्त गर्नै नसकिने खालको छ।"
विज्ञापनमा खेलिसके पछि पनि उनी फेरी अस्पताल पुगेकी छिन्। काम गर्न होइन - बिरामी बनेर।

उनी भन्छिन् कि भाइरसले उनलाई अझ सताउन छाडेको छैन।

"कोभिड वार्डमा मानिसहरूलाई सास फेर्दा भएको सास्ती, लगातार खोकिरहेको देख्दा जिऊ नै सिरिङ्ग हुन्छ किनकि मलाई थाहा छ यदि मेरो स्वास्थ्य बिग्रियो भने मेरो पनि त्यही हालत हुनेछ," सेराले भनिन्।
४६ वर्षका माइकल अर्का त्यस्ता व्यक्ति हुन् जसले दुई महिनाभन्दा बढी अस्पतालको खाटमै बिताए।

"म बिरामी थिएँ, ज्वरो आइरहेको थियो र सास फेर्ने पुरानै समस्या र छँदै थियो," उनले भने।

"के भएको रहेछ भनेर जँचाउन क्लिनिक गएँ। कोभिड भएको रहेछ। कति गाह्रो भइसकेको रहेछ भने एम्बुलेन्स नै बोलाउनु पर्‍यो र अन्ततोगत्वा अस्पतालमा भर्नै भइयो।"

माइकलका अनुसार डाक्टरहरूले उनी मर्ने भए भन्ने ठानिसकेका थिए।

"निसास्सिएको अनुभव भयो। एक क्षण खोकी लाग्थ्यो, अर्को क्षण रोकिन्थ्यो। मलाई निमोनिया भयो, रक्त अल्पता भयो र नसा पनि ड्यामेज भयो।"
ट्युब लगाएको दुई दिन पछि उनलाई कोमाको अवस्थामा राखियो।

"त्यही बेला मेरी श्रीमतीलाई पनि कोरोना लागेछ। अनि उनको आमा - जो केही दिन पछि कोरोनाकै कारण बितिन्। सासू बितेर शोकमग्न अवस्थामा श्रीमतीलाई साथ दिन नपाउँदा मेरो चित्त साह्रै दुखेको छ।"

वेस्टर्न हेल्थका आइसियु निर्देशक क्रेग फ्रेन्च आफ्नो अनुभव यसरी बाँड्दै भन्छन्, "आफैँलाई बचाऊ, आफ्नो प्रियजनलाई बचाऊ।"

"अस्पतालमा आफ्नो प्रियजन गम्भीर बिरामी अवस्थामा भर्ना हुँदा उनीहरूलाई हेर्न, भेट्न असमर्थ हुनु, उनीहरूको हात समात्न असमर्थ हुनु अत्यन्त हृदय विदारक कुरो हो।"
fc2d7def-0aed-4f99-86a9-b01c3c0d2ec6

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 
88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share
Published 11 August 2020 7:51pm
Updated 12 August 2020 10:04am
By SBS News
Source: SBS


Share this with family and friends