नेपालको उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहाय प्रसाद यादव शुक्रवार उपराष्ट्रपति निर्वाचित भएका छन्।

Ramsahay Prasad Yadav.jpg

Source: Facebook / Ramsahay Prasad Yadav

उपराष्ट्रपतिमा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकोमा यादवले ३० हजार ३२८ मत ल्याउँदै उपराष्ट्रपति निर्वाचित भएका हुन्।

यस्तै नेकपा एमालेकी उम्मेदवार शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गरिन् भने जनमतकी उम्मेदवार झाले २ हजार ३३७ मतभार ल्याइन्।

यादवलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलले समर्थन गरेका थिए।

को-को थिए उम्मेदवार

उपराष्ट्रपति निर्वाचनका लागि सुरुमा चार जनाले उम्मेदवारी दिएका थिए।

जसपाकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारी यादवको पनि उम्मेदवारी परेको थियो।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने निर्वाचन आयोगको सूचनाका कारण प्रमिला कुमारीको पनि उम्मेदवारी परेको बताइएको थियो।

तर पछि प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् र यादवलाई आफ्नो समर्थन रहेको घोषणा गरेकी थिइन्।

गठबन्धनकै अर्को दल जनमतले पनि भद्र प्रतिस्पर्धा गर्ने भन्दै झालाई उम्मेदवार बनाएको थियो।

उपेन्द्र यादवलाई खुल्यो बाटो

उपराष्ट्रपति निर्वाचित हुनु अघि यादव जसपाका संसदीय दलका नेता थिए। उनी बारा – २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

उपराष्ट्रपति भएसँगै उनले सांसद पद त्याग्न पर्ने प्रावधान रहेको छ।

उनको निर्वचन क्षेत्रमा अब उपनिर्वाचन हुने छ।

उक्त उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव लड्ने बताइको छ।

उपेन्द्रले गत मङ्सिरमा भएको निर्वाचनमा सप्तरी – २ बाट निर्वाचनमा भाग लिएका थिए।

उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका थिए।

को हुन् उपराष्ट्रपति

बारा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका रामसहाय प्रसाद शिक्षण पेसाबाट राजनीतिमा आएका हुन्।

उनी तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहबाट प्रेरित भएर राजनीतिमा लागेको बताइन्छ।

बीएस्सी र बिएडसम्मको पढाई गरेका यादवले १७ वर्ष लामो शिक्षण पेसामा बिताए।

उनी २०४७ सालबाट पूर्ण रूपमा राजनीतिमा लागेका हुन्। पछिल्लो समय उनी उपेन्द्र यादव निकट रहँदै आएका छन्।

उनले २०६० सालमा उपेन्द्र नेतृत्वको मधेसी जनअधिकार फोरममा आबद्ध भएका थिए।

बदलिएको सरकार समीकरण

उपराष्ट्रपतिको निर्वाचनपछि अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताइएको छ।

मङ्सिरमा सम्पन्न निर्वाचनपछि पुस ११ गते प्रचण्डको नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतको समर्थनमा बनेको गठबन्धन सरकारको समीकरण राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर परिवर्तन भएको हो।

यही कारण प्रचण्डले सरकार बनेको तीन महिना नपुग्दै फेरी विश्वासको मत लिनु परेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नागरिकता पुन:प्राप्ति गरेपछि गृहमन्त्रीको पद मागेका थिए तर प्रचण्डले दिन अस्वीकार गरेपछि उक्त दलले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो।

यस्तै राष्ट्रपतिमा माओवादी केन्द्रले काँग्रेसको उम्मेदवारलाई समर्थन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

शुक्रवार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

Share
Published 18 March 2023 2:21pm
Updated 18 March 2023 2:26pm
By Pratichya Dulal
Source: SBS

Share this with family and friends