सरकारी कोभिडसेफ एप प्रयोग गर्ने कि नगर्ने भन्ने अन्योलमा हुनुहुन्छ?

आइतबार साँझ सरकारी कोभिडसेफ एप सार्वजनिक भए यता, अस्ट्रेलियाभरका प्राविधिक समुदाय उक्त एप कसरी चल्छ भनेर जाँच गर्न व्यस्त छ।

The government's new COVIDSafe voluntary tracing app

The government's new COVIDSafe voluntary tracing app Source: AAP

सङ्घीय सरकारले कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो र भरपर्दो माध्यमको रूपमा प्रचार गरेर उपलब्ध गराएको कोभिडसेफ एपबाट मानिसहरूको जासुसी हुनसक्ने चिन्ताका बिच सूचना प्रविधिमा रुचि हुने तथा विशेष दक्खल राख्ने दुवै किसिमका मानिसहरू हाल उक्त एप खोतल्न लागिपरेका हुन्।

सिङ्गापुरको ट्रेसटुगेदर सफ्टवेयरमा आधारित यो अस्ट्रेलियन एपले ब्लुटुथ प्रविधिको माध्यमबाट एक मोबाइल फोनलाई अर्को मोबाइल फोनसँग जोड्दिन्छ।

यदि ती मध्ये कुनै पनि मोबाइल धनीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको खण्डमा उक्त व्यक्तिले राज्यका स्वास्थ्य अधिकारीहरूलाई त्यस एपको डाटा उपलब्ध गराएपछि उनीहरूले सङ्क्रमित व्यक्तिको नजिक आएका अन्य मानिसहरूलाई (जसले कोभिडसेफ एप आफ्नो फोनमा हालेका छन्) सम्भावित सङ्क्रमण बारे सचेत गराउन सक्ने बताइएको छ।
政府草擬法案為COVIDSafe追蹤程式提供私隱及個人資料保障
Australia's coronavirus tracing app, COVIDSafe has been released as the nation seeks to contain the spread of the deadly pandemic. Source: AAP
तर एप सार्वजनिक हुनुभन्दा पहिलेदेखि नै यसबाट सङ्कलन हुने विवरण र गोपनीयतालाई लिएर शङ्का, उपशङ्का अनि प्रश्न चिन्हहरू खडा भई नै रहेका छन्।

अब एप सार्वजनिक भएर २० लाख भन्दा पनि बढी अस्ट्रेलियालीहरूले यसको प्रयोग सुरु गरिसकेका छन् र कतिपय मानिसहरूले उक्त एप कसरी काम गर्दो रहेछ त भनेर हेर्ने थालिसकेका छन्।

सरकारलाई उक्त एपको ढाँचा पनि सार्वजनिक गर्न बृहत् प्राविधिक समुदायले अपिल गरी नै रहेको अवस्थामा प्रविधिमा केही व्यक्तिहरू स्वस्फुर्त रूपमा आफूले थाहा पाएका कुराहरू सार्वजनिक र आदानप्रदान गर्न थालेका हुन्।

म्याथ्यु रबिन्स त्यसै एक व्यक्ति हुन्।

पेसाले सफ्टवेयर डेभेलपर रहेका रबिन्सले कोभिडसेफ सार्वजनिक भएको केही समय भित्रै उक्त एपको एन्ड्रोइड संस्करण स्रोत कोड आफूले खोतल्न सुरु गरेको बताउँछन्।
विगत एक दशकदेखि सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका रबिन्सले त्यसको ८० प्रतिशत समय एप विकासकर्ताको रूपमा बिताएका छन् र यसो भएका हुनाले पनि उनलाई एपहरूले कसरी काम गर्छ भन्ने बारे यथेष्ट जानकारी छ। अनि सरकारले दाबी गरे अनुसार उक्त एपले काम गर्ने वा नगर्ने भनेर बुझ्न सक्ने क्षमता पनि।

उनको खोजको नतिजा सरकारी दाबीसँग मिल्दो जुल्दो नै छ - अर्थात् - यो एपले सरकारले भने जस्तै गरी काम गर्छ।

अब सोध्नु होला हैन के काम गर्छ त यो एपले?

रबिन्सका अनुसार यो एपले उसलाई सङ्कलन गर्न अर्हाइयेको डाटा सुरक्षित रूपमा तपाईँको फोन मै भण्डारण गर्छ। जस्तो कि अर्को कुनै मोबाइल यन्त्रबाट प्राप्त हुने सङ्केतहरू जसमा पनि यो एप डाउनलोड गरिएको छ। अनि, सरकारी दाबी अनुरूप नै यो एपले २१ दिन पुगेपछि उसले सङ्कलन गरेका सबै डाटाहरू आफै मेटाइदिन्छ र प्रयोगकर्ता यानि तपाईंले अनुमति दिनुभयो भने मात्रै स्वास्थ्य अधिकारीहरूलाई जानकारी पठाउँछ।

यो एपको सार यति नै हो।
आफ्नो खुल्दुली मेट्न उक्त एप खोतलखातल पारेका रबिन्स आफूले देखेको कुराहरूबाट सन्तुष्ट रहेको बताउँछन्।

“यो एपले त्यसो खास केही पनि बटुल्ने मैले देखिन,” उनी भन्छन्।

प्राविधिक रूपमा हेर्दा एपमा खासै केही ठुला गल्तीहरू नभए पनि सरकारले चाँडो काम गर्दा केही कदम यता उता पारेको उनको ठम्याई छ।

र, साथै उनलाई आइफोनहरूमा प्रयोग भएका स्रोत कोड हेर्ने पनि मन छ किनकि ती रिभर्स इन्जिनियरिङ गर्न एन्ड्रोइडका यन्त्र जस्तो सजिलो छैनन्।

“मेरो बिचारमा एप आफ्नो फोनमा हाल्दा केही बिग्रने छैन,” उनले एसबीएस फीडलाई भने।



म्याथु रबिन्स जस्तै अन्य अनुभवी सफ्टवेयर विकासकर्ताहरूले पनि कोभिडसेफ एपलाई हरियो झन्डा देखाएका छन् र अस्ट्रेलियालीहरूलाई यो एप आफ्नो फोनमा हाल्न प्रोत्साहन गरेका छन्।

जेफ हन्टली एक अर्का सफ्टवेयर इन्जिनियर हुन् जसले अस्ट्रेलियाली सूचना प्रविधि जगतको प्रतिक्रिया दस्ताबेजमा ढाल्ने प्रयास गर्दैछन्।

तपाईँ पनि, लौन मलाइ यो एप बारे हेर्न मन लागेको छ भन्नुहुन्छ भने हन्टलीद्वारा सङ्कलित दस्ताबेज तल हेर्न सक्नुहुन्छ र त्यो खुलेन भने चाहिँ थिचेर हेर्नुहोला।
अब कति एपको बारेमा मात्रै गुणगान गाइरहेको, समस्याका बारे त रबिन्सले सङ्केत गरेका थिए त भन्नुहुन्छ भने खोजकर्ताहरूले कोभिडसेफ एपमा केही सम्भाव्य समस्याहरू पक्कै देखेका छन्।

त्यस मध्येको एक प्रमुख समस्या भनेको प्रयोगकर्ताहरूले एपले कसरी काम गर्छ भनेर बुझेका छन् कि छैनन् भन्ने नै हो। कोभिडसेफले सही ढङ्गबाट काम गर्न पृष्ठभूमिमा यो एप चलिनै रहेको हुनुपर्छ - तपाईंले आफ्नो मोबाइलमा अन्य एप चलाउन त पाउनुहुन्छ तर यो एप बन्द गरिदिन भने हुँदैन।

अनि आइफोनहरूमा यो एप आफैँ बन्द हुने बारे पनि केही विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

आइफोनमा ब्याट्री घट्दै गयो र प्रयोगकर्ताले आफ्नो फोन चार्ज गर्न नमिल्ने अवस्थामा छन् भने लो पावर मोड भनिने ब्याट्री बचत अवस्थामा आफ्नो मोबाइललाई राख्न सक्ने सुविधा छ।

आइफोनहरू लो पावर मोडमा भएका बखत कोभिडसेफले काम राम्ररी गर्न नसक्ने बताइएको छ र धेरै ब्लुटुथ यन्त्रहरूसँग तपाईँको फोनको सम्पर्क हुन्छ भने पनि उक्त सरकारी एपले सदैव सोचे अनुरूपले काम गर्दैन कि भन्ने चिन्ता व्यक्त भएका छन्।
अनि सरकारले चाहिँ यी समस्याहरू बारे प्रत्यक्ष रूपमा केही नभने पनि एपले राम्ररी काम गरिरहेको छ कि छैन भनेर जाँच्न केही सल्लाह दिने गरेको पाइएको छ।

सरकारको कोभिडसेफ वेबसाइटका अनुसार, आइफोन र आइप्याडका प्रयोगकर्तालाई यदि उक्त एपले २४ घण्टा यता काम गरेको छैन भने त्यसले सूचना दिन्छ र सो समस्या कसरी हल गर्ने भनेर पनि सिकाइदिन्छ।

अनि यो एप आफैँले पनि कत्तिको मात्रामा ब्याट्री खान्छ भनेर स्पष्ट किटानका साथ कसैले भन्न सकेका छैनन्।

अनि सुरक्षाको दृष्टिकोणबाट पनि यो सरकारी एप अछुतो रहन सकेको छैन।
is seen on a mobile phone in Melbourne, Sunday, April 26, 2020. Australia's coronavirus tracing app, COVIDSafe has been released as the nation seeks to contain the spread of the deadly pandemic. A shutdown of non-essential services is in effect Australia
The Australian Government's new voluntary coronavirus tracing app 'COVIDSafe' Source: AAP
तर, सुरक्षा कै कारण तपाईंले आफ्नो फोनमा कोभीडसेफ हाल्न हुन्छ कि हुँदैन भनेर निर्धारण चाहिँ वास्तवमा तपाईँको व्यक्तिगत परिस्थितिमा निर्भर गर्दछ।

म्क्वारी विश्वविद्यालय स्थित साइबर सेक्युरिटी हबका निर्देशक तथा प्राध्यापक डाली काफरका अनुसार उनलाई सबैभन्दा पिरलेको विषय भनेको यो एपले डाटा भण्डारण गर्न प्रयोग गर्ने सर्भरसम्मको पहुँच हो।

अब अगि त फोन मै डाटा सेभ हुन्छ भनेर लेख्या हैन त भन्नुहोला।

हो, तर, तपाईंले अनुमति दिएको खण्डमा स्वास्थ्य अधिकारीहरूले हेर्ने मिल्ने गरी केही डाटा अपलोड पनि हुन्छ।

काफरलाई चिन्ता लागेको भनेको कुरा चाहिँ, यदि त्यो सर्भर ह्याक भयो वा सरल भाषामा भन्नुपर्दा कोही व्यक्ति अनधिकृत रूपमा त्यसमा प्रवेश गर्‍यो भने के हुन्छ भन्ने नै हो।

अनि फेरी अस्ट्रेलियन नेशनल विश्वविद्यालयकी प्राध्यापिका भनेसा तिइगले उक्त सरकारी एपले राख्ने र बाँड्ने जानकारी पनि चिन्ता योग्य रहेको खुलासा गरेकी छिन्।
उदाहरणका लागि, उक्त अस्ट्रेलियाली एपले तपाईँको फोनको ब्रान्ड, बनावट, मोडेल र त्यसले सम्पर्क स्थापित गरेको अन्य यन्त्रहरूको लेखाजोखा सबैले बुझ्ने अक्षरमा भण्डारण गर्छ। अलिकति इन्टरनेटमा यसबारे खोजखाज गर्नुभयो भने तपाईंले सजिलै उक्त जानकारी पाउन सक्नुहुन्छ।

तिइगका अनुसार यसो हेर्दा फोनको मोडेल जस्ता जानकारी खासै ठुलो गोपनीयता खोल्ने सूत्र नभएता पनि ठ्याक्कै त्यही फोन भनेर ठोकुवा गर्न मिल्ने जानकारी अन्तबाट पनि भिडाउन सकेको खण्डमा उक्त यन्त्र समात्ने व्यक्तिका बारेमा थोर बहुत जान्न सकिन्छ।

अनि, काफर यो पनि भन्छन् कि यदि कुनै एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भयो र उनले आफ्नो फोनमा रहेको सम्पर्कका तथ्याङ्क अपलोड गर्न अनुमति दिए भने अर्को पट्टि बस्ने अधिकारीले ती सङ्क्रमित व्यक्तिका एक साथी र अन्य मानिससँगै उठबस गरेका थिए भनेर चाल पाउन सक्छ।

अब, माथि भनेको व्यक्तिगत परिस्थिति यही आएर लागू हुने प्रोफेसर काफर बताउँछन्।

“त्यस्तो जानकारी सबैको चिन्ताको विषय नहुन सक्छ तर कसै कसैका लागि भने एकदमै संवेदनशील हुनसक्छ। उदाहरणका लागि दुई परस्पर विरोधी राजनैतिक दलका नेताहरू वा कुनै नेता र पत्रकारको भेटघाट,” उनी भन्छन्।
is seen on a mobile phone in Melbourne, Sunday, April 26, 2020. Australia's coronavirus tracing app, COVIDSafe has been released as the nation seeks to contain the spread of the deadly pandemic. A shutdown of non-essential services is in effect Australia
The Australian Government's new voluntary coronavirus tracing app 'COVIDSafe' Source: AAP
अनि केही विशेषज्ञले चाहिँ जानकारी अन्यत्र नपठाईकन पनि काम गर्न सक्ने एप निर्माण गर्न सकिने विचार व्यक्त गरेका छन्।

काफर चाहिँ आफूले उक्त सरकारी एप आफ्नो फोनमा हाल्नुस् वा नहाल्नुस् भनेर भन्न सक्ने स्थितिमा नरहेको बताउँछन्।

“गोपनीयता भन्ने कुरा नितान्त व्यक्तिगत धारणा हो,” उनी भन्छन्।

“म यही गर्नुहोस् भनेर सिफारिस गर्न सक्ने स्थितिमा छैन, तर म यसलाई नजिकबाट नियाल्नेछु। प्रविधि र कानुनको बारेमा हामीलाई अलिकति पारदर्शिता चाहिन्छ।”

अब पनि प्रश्न फेरी उही नै छ - कोभिडसेफ एप आफ्नो फोनमा हाल्ने कि नहाल्ने।
The Australian Government's new voluntary coronavirus tracing app 'COVIDSafe' is seen on a mobile phone in Melbourne, Sunday, April 26, 2020. Australia's coronavirus tracing app, COVIDSafe has been released as the nation seeks to contain the spread of the
Source: AAP
यो एप हाल्दाको राम्रो पक्ष भनेको हामीले अहिले भोगिरहेको सामाजिक प्रतिबन्धहरू शीघ्र रूपमा खुकुलो पार्न यसले खेल्न सक्ने सम्भावित भूमिका नै हो। । 

यो एप सरकारले पनि यही कारण - सामाजिक प्रतिबन्धहरू छिटो भन्दा छिटो अन्त्य गरेर सामान्य अवस्था तर्फ सकेसम्म चाँडो फर्किनु सकियोस् - भनेर नै ल्याएको हो।

यो एप धेरै भन्दा धेरै मान्छेले प्रयोग गरुन्, कोभिड-१९ सङ्क्रमित मानिसहरू सबै सम्पर्कमा आउन्, उनीहरूको राम्रो उपचार होस्, जीवन जोगाउन सकियो, अर्थतन्त्रलाई फेरी अगाडी अगाडी बढाउन सकियोस् आदि आदि।

एक अनुमान अनुसार यो एपले प्रभावकारी रूपमा काम गर्न कम्तीमा पनि ४० प्रतिशत अस्ट्रेलियालीहरूले यसको प्रयोग गर्नुपर्छ।

हालसम्म लगभग २० लाख मानिसहरूले डाउनलोड गरिसकेको बताइएको यो एप एक करोड जनताले डाउनलोड गरेर प्रयोग गरे मात्र अलिकति भए पनि यसले आफ्नो काम देखाउन सक्ला।

तपाईँको व्यक्तिगत सोच र तपाईंले गोपनीयतालाई कसरी हेर्नुहुन्छ भन्नेमा धेरै कुरा निर्भर रहन्छ - अब एसबीएस नेपालीका पाठकहरूको नाडी छाम्दा भने हामीले ६१ प्रतिशत पाठकहरूले यो सरकारी एप प्रयोग गर्ने सोच बनाएको पाएका थियौँ।
SBS Nepali poll on Covidsafe app
हाम्रा पाठकको सोच Source: SBS Nepali
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 
covid-19.png

Share
Published 28 April 2020 2:15pm
Updated 28 April 2020 6:29pm
By Sam Langford


Share this with family and friends